नेताहरु नसुध्रिए राजनीति नेताहरुकै निम्ति प्रतिकूल बन्दै !

8

राजनीतिक दल, शीर्ष नेताहरु, वर्तमान शासकीय प्रणालीमाथि प्रश्न उठिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले आफ्नो सक्रियता बढाएका छन् । उनी तराईका विभिन्न जिल्ला र केही पहाडी जिल्लामा पनि अभिनन्दन, मन्दिर दर्शनजस्तो बहानामा जनतासँगको अन्तक्र्रिया बढाएका हुन् । यसबीचमा राजनीतिक दलहरु भने आफ्नो छवि सुधार्न र देश तथा जनताको हितमा काम गर्नभन्दा पनि पूर्वराजालाई धम्क्याउने रणनीतिमा लागेका छन्, जसको कारण पूर्वराजाप्रति सहानुभूति र नेताहरुप्रति वितृष्णा बढिरहेको छ । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भएको १६ वर्ष बित्दा पनि देशमा फेरि राजतन्त्र स्थापनाको विषय उठेको छ । साढे दुईसय वर्षभन्दा बढी अवधि देशमा शासन गरेको राजतन्त्रको आवश्यकता र औचित्य नरहेको भन्दै दोस्रो जनआन्दोलन भएको थियो । सम्पूर्ण राजनीतिक दल र जनतालाई राजतन्त्रको विपक्षमा बनाएको त्यो माहोल अहिले परिवर्तन भएको छ ।

अहिले मुलुकमा फेरि संघीय व्यवस्थामाथि नै प्रश्न उठेको छ । गणतन्त्रवादी नेताहरुको जनविरोधी र देशविरोधी क्रियाकलापले राजतन्त्र फर्काउने कसरतमा लागेकाहरुलाई उत्साह बढाउने काम भइरहेको छ । यस बीचमा नेताहरुको अस्वाभाविक जीवनशैलीले पनि यो व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । जनयुद्ध गरेर संसदीय व्यवस्थामा आइपुगेका माओवादी नेताहरुको जीवनशैली अहिले नवसामन्तवादको झल्को दिने खालको छ । कांग्रेस तथा एमालेका नेताहरुको ठाँटबाँटयुक्त जीवनशैलीमा पनि कुनै कमी आएको छैन । यसले नेताहरु विकास निर्माण र देश तथा जनतालाई सेवा गर्नेतर्फ भन्दा आफू र आफ्नो आसेपोसलाई पोस्नेतर्फ मात्र सक्रिय भएको र राज्यकोषको त्यही अनुसार दुरुपयोग गरेको पाउन सकिन्छ । नेपालको राजनीतिक दल मात्र नभएर संविधानले पनि देशको गन्तव्य समाजवाद भएको उल्लेख गरेको छ । कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी नभई पूँजीवादी दल कांग्रेसले पनि समाजवादलाई कुनै न कुनै रुपमा समर्थन गरेको देखिने गरेको छ । तर, यो केवल कागज र भाषणबाजीमा मात्र सीमित देखिएको छ ।

पछिल्लो समय मुलुकमा दलाल पुँजीवाद र बिचौलिया हावी हुँदा किसान, श्रमिकलगायत धेरै पीडित छन् । महँगीका कारण जीवनयापन नै धान्न गाह्रो छ । ऋण लिँदा घरबास उठिबास लाग्ने जोखिम छ । हाल मुलुकको अर्थतन्त्र संकटोन्मुख छ । सरकारले केही भ्रष्टाचारको फाइल खुलाएको त छ, तर भ्रष्टाचार, तस्करीमा कमी आउन सकेको छैन । शिक्षा, स्वास्थ्य, बैंकवित्त सबै क्षेत्रमा चरम लुट छ । महँगीका कारण उपभोक्ताको ढाड सेकिएको छ । न्यून आय भएका नागरिकलाई दैनिकी धान्न नै कठिन भइसकेको छ । बेरोजगारीका कारण सयौं युवा दैनिक विदेश पलायन भइरहेका छन् । तर, पूँजीपति वर्ग भने सरकारबाट लाभ लिन सफल भइरहेका छन् । तर, नेताहरुमा अहंकार भने कम भएको छैन । उनीहरु आफू सुध्रिनेभन्दा पनि अरुलाई दोष देखाउने बाटोमा अझै लागिपरेका छन् । के देशमा यतिका वर्ष पनि विकास गर्न नसक्ने दलहरु अहिले राजतन्त्रको पक्षमा लागिरहेको नारा र प्रदर्शनका जिम्मेवार होइनन् र ? यदि उनीहरुले विकास, सुशासन, रोजगारी दिएका आजको दिनमा राजतन्त्र शब्द कसैले उच्चारण गर्ने थिए ? यी प्रश्नहरु उनीहरुतर्फ नै सोझिएका छन् । अब पनि उनीहरु नसुध्रिए राजनीतिक अवस्था नेताहरुकै लागि प्रतिकूल बन्ने देखिन्छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here