काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।
आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि सेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भन्दै प्रश्न गरेका हुन्।
विनोद चौधरीलाई किन बयान लिइएन भनेर प्रश्न गरेका लामिछानेले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापाबारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनेर समेत प्रश्न गरे। उनले इन्द्रजित राईका छोरा निरजबारे पनि कुरा उठाए।
लामिछानेले भने, ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडि हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारहरुमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ। तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला। बयान लिइयो कि लिइएन?’
राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकको वैयक्तिक तथा जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय मन्तिरीपरिषद्ले खारेज गरेको समाचार आएको र त्यस्तो निर्णय कसको संलग्नतामा कसरी गरियो भन्ने पत्ता लगाउने कार्यादेश सहित नै प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको समाचार आएको उनले बताए।

















