सांसद बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई दिए अपराधीको संज्ञा

17

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य (सांसद) नरबहादुर बिष्टले जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्। जिल्ला न्यायाधीश आचार्यलाई दुर्गममा सरुवा गरेर मात्रै नपुग्ने भन्दै सांसद बिष्टले न्याय परिषद्‌ले थप कारबाही गर्नुपर्ने जनाए।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बिष्टले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई २ दिनमै छोड्न आदेश दिएको भन्दै न्यायधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाएका हुन्। न्यायाधीश आचार्यको मुगु सरुवा गरेकोप्रति असन्तुष्टि जनाउँदै मुगु नेपाल नै भएकाले अनैतिक काम गर्नेलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्ने बिष्टले माग गरे।

सांसद बिष्टले भने, ‘सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त छ। सरकारले जुन खालको पहलकदमी गर्दै गरेको अवस्थामा धेरै कुराहरु सुशासनको सम्बन्धमा, सुशासनलाई कामय गर्दै जाँदा, हुनतः हामी गठबन्धन सरकारमा छौँ। गठबन्धन सरकारलाई समेटेर लिनुपर्ने स्थिति पनि र त्यस्तै चुनौतीका बीच पनि विगतमा जनताले दैनिक जुन काम गर्नुपर्दथ्यो, लाइन लागेर कामहरु गर्ने जुन स्थिति थियो। त्यो आज राहदानी विभागमा होस्, वैदेशिक रोजगारी विभाग थुप्रै ठाउँमा जनताले प्रत्यक्ष लाभ पाउने स्थfनमा आज लाइन लाग्नुपरेको छैन। सुधारका थुप्रै कामहरु हुँदाहुँदै पनि त्यसका बीचमा चुनौती छ। आज भ्रष्टाचारीलाई कारबाही गर्दै गर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृति जुन छ। व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको आफ्नै क्षेत्राधिकार छन्, तर कार्यपालिकाले गरेका कामहरुलाई पनि हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ। मैले आज न्युज सुनेँ। अरुण चौधरीलाई २ दिनभित्रै छोड्ने न्यायाधीशको मुगु सरुवा भयो रे, काराबाही स्वरुप। मुगु भनेको नेपालमै हो। मुगुमै किन सरुवा गर्नुपर्‍यो? त्यो अनैतिक हो, भ्रष्टाचारी हो, त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्दथ्यो। सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले। त्यसैले यो विडम्बनापूर्ण कुरा हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here