काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव ५६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कुल एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता शेयर तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रोपावर आठ दशमलव शून्य एक, जोशी हाइड्रोपावर सात दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३४ प्रतिशतले कमाएका छन् । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनी पाँच दशमलव ७०, प्रोगेसिभ फाइनान्स पाँच दशमलव ५८, माहुली लघुवित्त पाँच दशमलव ४२, रिभर फल्स पावर पाँच दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले चार दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।
















