काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको जनाएका छन् ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको जनाए ।
‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने बाहेक आजको दिनमा मेरो सरकारको कहीँ पनि चिन्ता छैन’, उनले भने ।
सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण आदिमा छानबिन अघि बढाउँदा प्रधानमन्त्रीलाई कुर्सी हल्लिने डर भएको जस्तो देखिएको बताएका थिए । नीतिगत निर्णय गर्नेहरु उम्कने र कार्यान्वयन गर्नेहरु सजायको भागीदार हुने अवस्थाले सुशासनको अभियान सफल हुन्छ भन्नेमा संशय पैदा गरेको उनको भनाइ थियो । सरकारले सुरु गरेको अनियमितताको छानबिन निष्कर्षमा पुग्न नसक्नुको पछाडि कुर्सी हल्लिन्छ भन्ने डर हो कि भनी पराजुलीले प्रधानमन्त्रीलाई सोधेका थिए ।
आफूलाई अहिलेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले प्रधानमन्त्री बनाएको भन्दै सुरुमा सरकार १५ दिन हो कि २० दिन हो भन्ने सोचेको सुनाए ।
‘मलाई अहिलेको प्रमुख प्रतिपक्ष लगायतकाले दलले प्रधानमन्त्री बनाउनुभयो । मैले १५ दिन हो कि २० हो भन्ने सोचेको थिएँ । विश्वभरि अध्ययन पनि गरेको थिएँ कति वटा प्रधानमन्त्री १५–२० दिनमा हटेका रहेछन् भनेर’, प्रचण्डले भने, ‘नजिकै हाम्रो छिमेकी भारतमा १३ दिनमा अटलविहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ ।’

















