कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा महिला पुरुष समविकास तालिम सुरु भएको छ ।
श्री सिद्धिपुर सामाजिक महिला विकास संस्था बाणगंगा ४ को आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा लैगिंक हिंसा न्युनिकरण गर्ने उद्देश्यले महिला पुरुष समविकास ६ दिने तालिम आज उद्घाटन गरिएको हो ।
तालिममा लिंगका आधारमा हुने हिंसाका प्रकार, कारण तथा न्युनिकरण गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उप–प्रमुख रीता कुमारी चौधरीले नगरपालिकालाई लैगिंक हिंसा मुक्त नगर बनाउँनका लागि यो कार्यक्रमले अहम भुमिका खेल्ने बताउनुभयो । उप प्रमुख चौधरीले नगरपालिकामा यो नौलो कार्यक्रमको रुपमा रहेको बताउँदै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त तालिममा मानव अधिकारकर्मी रोमकान्त घिमिरे प्रशिक्षकको रुपमा रहनुभएको छ । उहाँले सहभागीलाई प्रशिक्षण दिंदै लैगिंक हिंसाका प्रकार, कानुनी व्यवस्था तथा न्युनिकरणका उपायहरुको बारेमा स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष श्री सिद्धिपुर सामाजिक महिला विकास संस्थाका अध्यक्ष सीतादेवी न्यौपानेले कार्यक्रममा सहभागी सम्पुर्णलाई धन्यवाद दिंदै तालिममा सक्रिय रुपमा सहभागी हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिका महिला, बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थको विशिष्ठ आतिथ्यता, जिल्ला समन्वय समिति कपिलवस्तुका सदस्य सुमित्रा परियार, मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गंगा कुमारी भट्टराई लगायतको आतिथ्यता, श्री सिद्धिपुर सामाजिक महिला विकास संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदारको स्वागत तथा सह सचिव अपसरा अधिकारीको संचालन रहेको कार्यक्रममा ६० जना महिला पुरुषको उपस्थिती रहेको छ ।


















