आज वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले सिरियासँग भिड्दै

35

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग भिड्ने भएकाे छ ।

समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो । गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली साउदी पुगिसकेको छ । जसमा फ्रेन्च लिग खेल्दै यतिहास बनाएकी फरवार्ड सावित्रा भण्डारी पनि समावेश छिन् । उनी फ्रान्सबाटै साउदी गएकी हुन् ।

सावित्रा बाहेक नेपालमी टिममा भारतीय लिग खेलिरहेका कप्तान एनिज्लासहित ६ खेलाडी पनि छन् । उनीहरु लिगबाट ब्रेक लिंदै राष्ट्रिय टिमका लागि खेल्न आएका हुन् ।

भारत र फ्रान्सको लिग खेलेका खेलाडीहरु हुँदा नेपाली टोलीलाई फाइदा पुग्ने कप्तान एन्जिला र मुख्य प्रशिक्षक राजेन्द्र तामाङको विश्वास छ । तामाङले पहिलोपटक महिला टिमको जिम्मेवारी सम्हालेका हुन् ।

नेपालको पहिलो प्रतिद्वन्द्वी सिरिया भने यसअघि दुई पटक वाफ वुमन्स च्याम्पियनसिपमा तेस्रो भएको थियो । सन् २००५ मा पहिलो संस्करणमै तेस्रो भएको सिरिया पछिल्लो पटक २०२२ मा भएको च्याम्पियनसिपमा पनि तेस्रो भएको थियो ।यस्तै गत वर्ष नोभेम्बरमा भएको वाफ यू-१७ वुमन्स च्याम्पियनसिपमा भने सिरिया टिम च्याम्पियन बनेको थियो ।

नेपालले सिरियासँग पहिलो पटक खेल्न लागेको हो । नयाँ प्रतियोगिता नयाँ परिवेश र नयाँ वातावरणमा खेल्न नेपाली टोली उत्साहित छ ।

नेपालको पहिलो लक्ष्य समूह चरण पार गर्दै सेमिफाइनल पुग्ने र त्यसपछि उपाधि जित्ने रहेको छ । करिब चार दशक लामो नेपाली अन्तर्राष्ट्रिय महिला फुटबलको इतिहासमा नेपाललाई पहिलो पटक उपाधि जित्ने अवसर समेत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here