काठमाडौं । बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले अनुमानकै भरमा कसुरदार ठहर गर्ने छुट अदालतलाई नभएको जिकिर गरेका छन् ।
जिल्ला अदालतको फैसलाको प्रकरण नम्बर ५६ मा ‘..प्रतिवादी तथा पीडितको क्रियाकलापको सामान्य क्रम विचार गर्दा प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु नै रहेको भन्ने अनुमान गर्न सकिन्छ । प्रमाण ऐन, २०३१ को दफा ७ (ग) अनुसार पनि सो कुरा अदालतले अनुमान गर्न सक्ने नै हुन्छ’ भनिएको छ ।
हामीले अवलम्बन गर्दै आएको फौजदारी न्याय प्रणालीमा प्रतिवादीले अभियोग कसुर नगरेको भनी लिएको जिकिर आफूले प्रमाणित गर्न नसकेको अवस्थाको फाइदा वादी पक्षले पाउने नभइ प्रतिवादीले पाउने दाबी पनि उनले पुनरावेदनमा गरेका छन् ।
उनले पीडित भनिएकी किशोरीको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई समेत अदालतले बेवास्ता गरेको जिकिर गर्दै पुनरावेदन दिएका छन् । जिल्ला अदालतले वारदातको अवस्था, सोको पृष्ठभूमि, शारीरिक एवं यौनाङ्ग परीक्षण प्रतिवेदनलाई सुक्ष्म अध्ययन नगरेको पनि उनको आरोप छ ।