काठमाडौं । झापाको दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ,पाँच जना घाइते भएका छन्।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि शुक्रबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १ ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे १ ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो।
मृत्यु हुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनाल छन्।
दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

















