काठमाडौं । पप गायक विधान श्रेष्ठले आफ्नो लोकप्रिय गीत ‘कान्छिको अल्लारे जोवन…’ को नयाँ भर्सन सार्वजनिक गरेका छन् ।
ओल्ड दरबार रिवाइण्ड भोल्यूम वान अन्तर्गत सार्वजनिक गरिएको उक्त गीतको नयाँ भिडियो रेभोलुसन टिभी यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक विधान श्रेष्ठलाई दर्शक तथा स्रोतामाझ स्थापित गराउन सफल भएको यो गीतको वास्तविक भर्सन सन् १९९७ मै सार्वजनिक भएको हो । स्व.ध्रुव बस्नेत यो गीतका संकलक हुन् ।
हालै सार्वजनिक भएको यो गीतको नयाँ भर्सनमा पूरन लिम्बुको बास, सरोज परयारको गिटार, उज्वल तामाङको किबोर्ड, अमोन मानन्धरको ड्रम, उमेश पण्डितको बाँसुरी वादन छ भने श्याम तामाङ तथा बेन्जामिन गुरुङको ब्याक भोकल छ ।
मनोज कुमार केसी तथा मञ्जिल विक्रम केसीले यो गीतको म्युजिक प्रोडक्सन, रि–एरेञ्ज तथा कन्डक्ट गरेका हुन् ।
सार्वजनिक भिडियोलाई निश्चल श्रेष्ठ तथा सुमिरन महर्जनले छायांकन गरेका हुन् । बिजु कर्माचार्यद्वारा सम्पादन तथा छायांकन गरिएको भिडियोको निर्देशन पावेल उदासले गरेका हुन् भने आशिष स्याङ्देनको अवधारणामा यो भिडियो तयार भएको हो । उनी यसका कार्यकारी निर्मातासमेत हुन् ।


















