काठमाडौं । भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकेका छन् ।
भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकप्टर र एउटा सानोे विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू तैनाथ गरेको बताउने गरेको छ । तर गएको नोभेम्बरमा निर्वाचित भएका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने निर्णय गरेका हुन् ।
अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले विमान सञ्चालन गर्ने सहमति भएको छ । माल्दिभ्सबाट हिन्द महासागरका महत्त्वपूर्ण भागलाई निगरानी गर्न सकिने भएकोले भारतले माल्दिभ्समा लामो समयदेखि प्रभाव राख्दै आएको छ । दुई देशबीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्ला केही महिनायता सम्बन्ध बिग्रिएको हो ।


















