काठमाडौं । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो ।
समुन्द्र भट्ट निर्देशित फिल्मको पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ । हुसेनको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरअनुसार फिल्मका प्रमुख पात्र बनेका नाजिरको पात्र नाम गुलाबी राखिएको छ ।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक भट्टले यसअघि रिङरोड र आधापेजजस्ता फिल्म निर्देशन गरिसकेकी छन् ।


















