बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन्।
‘संसद्मा गुण र दोषका आधारमा हामीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन’, नेता महतले भने।
नेता महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले उनको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए।
संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्यांकनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए।