राष्ट्रियसभालाई देशको गरिमामय संस्था बनाउन प्रयत्न गर्छुः अध्यक्ष दाहाल

43

काठमाडाैं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण र देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्ने जनाएका छन् ।

मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने जनाएका हुन् । उनले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माण लगायत हरेक कामलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने जनाए।

उनले विभिन्न पार्टीसँग आबद्ध राष्ट्रिय सभा सदस्यहरुलाई एकतावद्ध बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको जनाए । संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने उनको भनाइ थियो ।

‘भोलिको दिनमा म आफ्नो ठाउँबाट जे उद्देश्यका साथ, जे प्रतिवद्धताका साथ र जे चाहना र भावनाका साथ मलाई यो ठाउँमा पु¥याउनुभएको छ, म त्यो काम पूरा गर्नको निम्ति तयार रहनेछु ।

मैले मुख्य गरेर राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकाहरुलाई पूरा गराउनको निम्ति म सबै दलसँग आबद्ध माननीय सदस्यहरुलाई एकतावद्ध बनाएर लैजाने कुरामा प्रतिवद्ध छु । म त्यसमा सफल हुनसक्छु भन्नेकुरामा मलाई आत्मविश्वास पनि छ । म त्यही अनुसार अगाडि बढ्छु,’ उनले भने ।

उनले अगाडि भने, ‘संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भुमिका देश र जनताको निम्ति, कार्यपालिकासँग जोडिएर गर्नुपर्ने भूमिकाहरुलाई मैले स्थापित गर्ने ढंगले, गरिमा बढाउने ढंगले मैले भूमिका पूरा गर्न कोशिस गर्छु ।

राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भिरताका साथ लिएर म अगाडी बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस् । राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here