काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो ।
सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भनिएको छ ।त्यस्तै राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ ।
देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने भनिएको छ ।