काठमाडौं । विश्व मिर्गौला दिवस मार्च १४ अर्थात् भोलि मनाइँदै छ । इस्वी अंग्रेजी पात्रोअनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ ।
विश्व मिर्गौला दिवसको यस वर्षको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ । नेपालमा यो वर्ष ९ भन्दा बढी संस्थाले एकसाथ विश्व मिर्गौला मनाउने भएका छन् ।
भोलि बिहान ७ः४५ बजे देखि रत्नपार्क शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा सुरु हुने छ । दशरथ रंगशालामा ८ः१५ बजे देखि ९ बजे सम्म अंग प्रत्यारोपित र अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीको समूहले मैत्रीपूर्ण फूटबल खेल खेल्न कार्यक्रम छ ।
अंग प्रत्यारोपण गरेका व्यक्तिहरू पनि स्वास्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् र उनीहरू हरेक क्षेत्रमा सबल कार्य गर्न सक्छन् भन्ने जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको आयोजक समितिकी संयोजक डा.कल्पना कुमारी श्रेष्ठले जानकारी दिइन् । साथै अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको श्रेष्ठको भनाइ छ ।
प्रत्येक १० जना मध्ये १ जनलाई मिर्गौला रोग लाग्ने गर्दछ । विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइने गरिन्छ ।


















