भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित

33

 

 एजेन्सी ।   भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तीन जना प्रतिस्पर्धीलाई पछि पारेर पुटिन पाँचौँ पटक राष्ट्रपतिमा विजयी भएका रुसको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पुटिनले कुल मतको ८७ प्रतिशत मत प्राप्त गर्नुभएको आयोगले दाबी गरेको छ । चुनावमा ७४ प्रतिशतभन्दा धेरै मत खसेको र पुटिनले ८० लाख मत प्राप्त गरेका खबरमा उल्लेख छ ।

पश्चिमा देशहरूले भने पुटिनको निरङ्कुशताका कारण विपक्षीलाई उम्मेदवार बन्न नदिएको र अहिले प्रतिस्पर्धी भनिएकाहरू पुटिनकै नजिकका व्यक्ति भएको आरोप लगाएका छन् । अमेरिकाले चुनावलाई हास्यास्पद र नाटकको संज्ञा दिएको छ । जर्मनीले यो चुनावलाई सेन्सरशिप, दमन र हिंसाको बीचमा प्रोक्सी चुनाव भनेको छ । यस्तै बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रुसको चुनावको निन्दा गर्दै यसलाई अवैध भनेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाहहरूले नाटक गरेको आरोप लगाएका छन् ।

तर चुनाव जितेपछि पत्रकार सम्मेलन गर्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशहरूको लोकतन्त्रभन्दा रुसको लोकतन्त्र र चुनाव धेरै विश्वसनीय रहेको बताएका छन् । ‘यो चुनाव पारदर्शी र पूर्णरूपमा सही छ । अमेरिकाजस्तो होइन जहाँ १० डलरमा भोट किन्न सकिन्छ’, पुटिनले भने ।  उनले युक्रेनमाथिको आक्रमण नरोकिने र नेटोले रुसविरुद्ध कुनै कदम चालेमा आणविक हतियारको प्रयोग हुन सक्ने चेतावनी दोहोर्‍याएका छन् ।

पत्रकारको एक प्रश्नमा चीनको प्रशंसा गरेका पुटिनले ताइवान चीनकै भूभाग भएको बताए । रुसमा तीन दिनसम्म चलेको मतदान रुसले कब्जा गरेको युक्रेनी क्षेत्र जापोरिझिया, खेरसन, डोनेट्स्क र लुहानस्कमा पनि भएको थियो । यस्तै विदेशका सबै दूतावास र कुटनीतिक नियोगमा पनि अनलाइन भोटिङको व्यवस्था थियो ।

सन् १९९९ मा तत्कालीन राष्ट्रपति बोरिस इल्तसिन बिरामी परेपछि पुटिनलाई राष्ट्रपति बनाएका थिए। त्यसपछि सन् २००० देखि चार वर्षबाहेक पुटिन लगातार रुसको राष्ट्रपति छन्। सन् २००८ देखि २०१२ सम्म भने उनी प्रधानमन्त्री थिए। आलोचकहरूले उनलाई एक निरङ्कुश शासक भन्छन् । उनको विरोध गर्नेहरू कि त मारिने कि त जेलमा जानुपर्छ भनिन्छ ।

७१ वर्षका पुटिन राजनीतिसँगै खेलकुदमा पनि उत्तिकै अब्बल छन्। कराँतेमा उनी ब्ल्याकबेल्ट खेलाडी हुन्, घोडचढीमा पनि उनको विशेष दख्खल छ । पाककलामा पनि पुटिनको दख्खल छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here