काठमाडौं । माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिर जमानीमा छाड्ने तयारी भएको छ। बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।
सीआइबीका अनुसार शुक्रबार महरालाई हाजिर जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुनेछ। यद्यपि उनको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी भएको सीआईबीले जनाएको छ। उनलाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको छ। बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिन जारी रह्यो।
बयानका क्रममा महराको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ। स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न लागिएको हो। चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि गत बुधबारदेखि बयान लिन सुरु भएको थियो।
महरालाई चैत ५ मै काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए।
गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको थियो।
सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुललाई अहिले पनि पुर्पक्षका लागि थुनामा नै राखिएको छ।


















