घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट विरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।
लोपोन्मुख प्रजातीको रुपमा रहेको हिमाली गिद्धको बग्लहुवा सामुदायिक वनबाट स्थानीयले उद्धार गरी मङगलबार डिभिजन वन कार्यालय पहलमानपुरलाई बुझाएका हुन् ।
डिभिजन वन कार्यालयका प्रमुख नितेसराज भट्टराईले स्थानीयले खबर गरेपछि वनका कर्मचारीले उद्धार गरी डिभिजन वन कार्यालयमा राखिएको बताउनुभयो । उहाँले बिरामी गिद्धको उपचारगरी सुरक्षित स्थानमा छोडिनेसमेत जानकारी दिनुभयो ।
चराविद् हिरुलाल डगौंराले जाडोको समयमा आहारा खोज्दै टाढाटाढासम्म पुग्ने हिमाली गिद्ध गर्मिशुरु भएसंगै हिमाल तिर फकर्ने बताउनुभयो । चराविद् डगौंराले लामो दुरीको उडान र गर्मीका कारण विरामी परेको हुनसक्ने बताउनुभयो ।
उहाँले उद्धार गरिएको गिद्ध आइ.यु.सि.एनको रेडलिष्टअनुसार संकटको नजिक रहेको जनाउनुभयो । हिमाली गिद्धहरु जाडोमा नेपालको हिमाली क्षेत्रबाट तराइमा आहाराका लागि आउने गरेको बताईन्छ । दुई वर्ष अगाडि यस्त खालको हिमाली गिद्ध भजनीको सामुदायिक वनमा विरामी अवस्थामा फेला परेको थियो ।


















