नेपाली चलचित्रकाे ऐतिहासिक उपलब्धि

39

काठमाडौं । टेलिभिजन च्यानलमार्फत विगत ५१ वर्षदेखि हलिउडका फिल्महरु प्रसारण गर्दै आइरहेको हलिउडको जेठो सिनेमा च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ) ले सेटेलाईट तथा ओटिटी वितरणका लागि पहिलो पटक नेपाली चलचित्र किनेको छ ।

एचबिओले पहिलो पटक नेपाली फिल्म ‘द रेड सुटकेस’ किनेको हो । यो चलचित्र यही चैत ३० गतेदेखि नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर नेपालमा प्रदर्शन हुँदैछ । यसै क्रममा हलिउड म्यागजिन भेराइटीले बिहीवार सम्प्रेषण गरेको यो समाचार नेपाली चलचित्रकर्मीहरुका लागि एउटा सुखद बनेको छ ।

यो फिल्मका निर्माता रामकृष्ण पोखरेलका अनुसार एचबीओले १५ वटा युरोपियन देशको लागि ओटीटी अधिकार लिएसँगै आफ्नो लगानी सुरक्षित भएको बताएका छन् । एचविओले आफुहरुको फिल्म किनेपछि थप हौसला बढेको उनले बताएका छन् ।
बेलायत बेस बनाएर बसेको फिल्म सेल्स एजेन्ट ‘रिजन ८ फिल्मस्’ ले २०२३ को भेनिसमा प्रदर्शित यो फिल्म युरोपका १५ देशमा वितरण गर्न एचबिओ च्यानललाई बिक्री गरेको छ । हलिउडको भेराईटी म्यागेजिनका अनुसार उक्त वितरक संस्थाले मलेसिया र बु्रनाईमा द रेड सुटकेश विक्री वितरण तथा प्रदर्शनको अधिकारी सुराया फिल्मस्लाई बिक्री गरेको छ ।

एचबिओसँगको सम्झौता अन्तर्गत १५ देशहरु अल्बानिया, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, पोल्याण्ड, रोमानिया, मोल्डोभा, क्रोएसिया, स्लोभेनिया, सर्बिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया–हर्जेगोभिना, म्यासेडोनिया र बुल्गेरिया समावेश छन् । अब यी मुलुकमा द रेड सुटकेसलाई अचबिओले देखाउने छ ।

त्यस्तै उत्तरी अमेरिका र ल्याटिन अमेरिकाको लागि यो फिल्म विक्री वितरण गर्न अन्य वितरक कम्पनीसँग कुराकानी भईरहेको पनि रिजन ८ फिल्मस्ले भेराईटी म्यागेजिनलाई जनाएको छ ।

फिडेल देवकोटाले डेब्यु निर्देशनमा बनेको कथानक फिल्म ‘द रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलको होराइजन्स स्ट्र्यान्डमा प्रिमियर भएको थियो । फेस्टिभल रनमा जुरिच र मुम्बई समावेश थिए । फिल्मसँग सहकार्य गरेर श्रीलंकामा पोष्ट प्रोडक्सन गरिएको पनि यो नै पहिलो नेपाली फिल्म हो ।

निर्माता पोखरेलले बिहीवार साँझ सञ्चारकर्मीसँग भने– ‘नेपालमा केही प्रदर्शकहरुले हामीलाई प्रदर्शनमा वेवास्ता गरेको बेला एचबिओले द रेड सुटकेसको ओटिटी राईटस् खरिद गर्नु हाम्रा लागि महत्वपूर्ण कुरा हो । यसले घरेलु बजारको दवावमा नपरी पनि अन्तराष्ट्रिय बजारबाट लगानी उठाउन सकिन्छ भन्ने आत्मविश्वास दिएको छ ।’

निर्देशक फिडेल देवकोटा पनि फिल्म निर्माण गर्दा नै आफूहरु परम्परागत बजारको पक्षमा नरहेको र सोही अनुसार नै फिल्म वितरणको फराकिलो तयारीका साथअघि बढेको जानकारी गराए । ‘स्थानीय बजारमा मात्र फिल्म देखाउँछु भन्नेबारे भर नपरी अन्तराष्ट्रिय बजारका लागि पनि फिल्म निर्माण गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो । यसले हामीलाई नयाँ बजारको खोजीका लागि झक्झक्याउँछ र यसपटक एचबिओमार्फत हामीले नयाँ बजारका रुपमा युरोपका १५ वटा मुलुकलाई पनि पाएका छौं’, निर्देशक देवकोटाको भनाइ छ ।

यो सुखद खबर भएको निर्देशक देवकोटाले बताउँदै थपे – ‘आज द रेड सुटकेसले बनाएको यो नयाँ बजार भविष्यमा यसरी बन्ने अन्य नेपाली फिल्मका लागि पनि त्यत्तिकै फाइदाजनक बन्ने छ ।’

द रेड सुटकेसमा अभिनेता सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायतको मुख्य भूमिका रहेको छ । आइसफल प्रडक्सनका लागि शोभा थापाको निर्माण रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् ।

भिजुअल एन्थ्रोप्लोजीमा विधावारिधी गरेर यो फिल्म निर्देशन गरेको फिडेलले यस अघि २०१४ मा सर्ट फिल्म ‘द लास्ट याक हर्डर अफ धे’ र बृत्तचित्र ‘विन्ड अफ चेन्ज इन लो मुस्ताङ’ निर्देशन गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here