रंगमञ्च उठेपछि आयौ’ भने जस्तै प्रधानमन्त्रीका कुरा !

35
 –निमकान्त पाण्डे
देशमा अहिले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभाको उपनिर्वाचनको रापताप सुरु भएको छ । मिसन ८४ मा रहेका दलहरु यो उपनिर्वाचनलाई आफ्नो ‘मिनि एक्सरसाइज’ को रुपमा लिएका छन् । पछिल्लो समयमा देशमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षणका कारण यो उपनिर्वाचनले पनि त्यही धारलाई कायम राखेको छ कि त्यसमा पनि बदलाब आएको भन्ने स्पष्ट पार्ने अपेक्षा लिइएको छ । विशेषगरी एमाले नेता सुवास नेम्वाङको क्षेत्र इलाम–२ मा लामो समयदेखि एमालेको वर्चस्व रहँदै आएको छ । नेम्वाङको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
एमालेले नेम्वाङकै छोरा सुहाङलाई त्यहाँ उम्मेदवार बनाएको छ । एमाले अहिले सत्तारुढ गठबन्धनको एक दल हो । गत फागुन २१ मा नयाँ सत्ता गठबन्धन बन्दा अब वामपन्थी दलहरुबीच सहकार्य हुने अपेक्षा जनताले गरेका थिए । तर, त्यसको केही सातामै उनीहरु अझै एक हुन नसकेको सन्देश उपनिर्वाचनमा छुट्टाछुट्टै उम्मेदवार घोषणा गर्नुले पनि स्पष्ट पारेको छ । इलामा माओवादी, एकीकृत समाजवादीले आआफ्नो उम्मेदवार उठाउने भएको छ । कांग्रेस अझै उम्मेदवार छनोटको प्रक्रियाममै छ । केही वर्षअघि एमाले र माओवादीको एकताबाट नेकपाको आगमनपछि वामपन्थी दलहरु नेपाली राजनीतिप्रति गम्भीर भएको अपेक्षा गरिएको छ ।दशकौंदेखि विभाजित पार्टीको रुपमा वामपन्थी दल नेपालको राजनीतिमा प्रभावशाली हुन सकेका थिएनन् । त्यही कारण नेकपाले लामो समय देशको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको जुँगाको लडाइँका कारण उनीहरु फेरि ‘पुनर्मुसिको भव’ को अवस्थामा आइहाले । त्यसपछि कांग्रेससँगको सहकार्यमा अघि बढेको माओवादी र एकीकृत समाजवादीले त्यो गठबन्धनले आफ्नो राजनीतिक उद्देश्य पूरा नहुने संकेत पाइहाले । त्यही कारण पुनः एमालेसँगको सहकार्यमा सरकार पुनर्गठन भएको छ तर यो सहकार्यको फाइदा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि नहुने भएको छ । मतलब, अझै पनि वामपन्थी दलबीच तन मिले पनि मन नमिलेको जस्तै अवस्था छ । तर, कम्युनिस्ट दलका नेताहरुले आफूहरुबीच सहकार्यको आवश्यकताको रटान भने लगाउन छाडेका छैनन् ।

हालै एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे । माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइने र यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई रहेको उनको भनाइ थियो ।

देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको दाबी गर्दै उनले भनेका छन् ‘दायाँ कदम चाल्दा होस् या बायाँ कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न, हामीले लिएको संकल्प त्यही हो, आज पनि त्यही छ ।’ तर, १० वर्ष जनयुद्ध गरेर आएका प्रचण्डलाई यो कुरा थाहा नै छ कि क्रान्ति कहिल्यै पनि एक्लै सम्भव हुँदैन । यसका लागि ठूलो जनसमुदायको सहयोग र साथ चाहिन्छ ।

राजनीतिक रुपमा त्यही उद्देश्य बोकेका दल र नेताहरुलाई यो आन्दोलनमा सहभागी गराउन आवश्यक छ । तर, इलाम उपनिर्वाचनमा भने प्रचण्डले भनेको भन्दा ठीक उल्टो देखिएको छ । अर्थात् प्रचण्ड वामपन्थी तथा राष्ट्रवादी दलसँग सहकार्यको भाषण त गर्छन् तर व्यवहारमा उतार्दैनन् । न त उनले अन्य कम्युनिस्ट दललाई सहकार्य गरेर उपनिर्वाचनमा जाऔं भन्ने क्षमता नै राख्न सकेको देखिन्छ ।

गतवर्ष प्रतिनिधिसभाको चुनावी परिणामले नेताहरुलाई कमजोर भएको महसुस गराएको छ भन्ने कुराको छनक अहिले इलामको उपचुनावमा देखिएको छ, त्यो पनि एमालेले उम्मेदवार घोषणा गरिसकेपछि । वामपन्थी र देशभक्तहरु एक ठाउँमा उभिन आवश्यक छ भन्ने कुरा अब आएर प्रचण्डलाई किन महसुस भयो ? ढिलो भएन र ? घन्टीले घन्टी बजाइसकेपछि बल्ल अब झस्केका छन् नेताहरु ! यो त ‘रंगमञ्च उठेपछि आयौ’ भन्ने एउटा गीतको पंक्ति सम्झाउने खालको नेताहरुको आचरण देखिँदै छ । उपनिर्वाचनमा पनि सहकार्य गर्न नसक्ने कम्युनिस्ट दलहरुले आफ्नो खस्किँदै गएको छविलाई कसरी उकास्लान् भन्ने अहिले मूल प्रश्न देखिएको छ । यो प्रश्नको जवाफ अहिले प्रचण्ड, ओलीलगायत सबै बामनेताहरुसँग नेपाली कम्युनिस्ट आन्दोलनले मागिरहेको छ, सबै नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here