प्रशान्त डंगाेल
वर्षायाम सुरु हुनासाथ देशका प्रमुख सहरहरूमा डुबानको समस्या दोहोरिन थालेको छ । केही घण्टाको वर्षामै सडक, बजार तथा बस्तीहरू जलमग्न हुने अवस्था वर्षौंदेखि कायम रहँदा पनि यसको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी योजना बनाउन नसकेको भन्दै नागरिकहरूले प्रश्न उठाएका छन् । शहरी डुबानलाई केवल अत्यधिक वर्षाको परिणामका रूपमा मात्र हेर्न नहुने विज्ञहरूको भनाइ छ । अव्यवस्थित सहरीकरण, प्राकृतिक जलनिकास मार्गको अतिक्रमण, अवैज्ञानिक ढल व्यवस्थापन, वर्षाको पानी जमिनमा पुनर्भरण गर्ने प्रणालीको अभाव तथा सरकारको दीर्घकालीन योजनाको कमी डुबानका प्रमुख कारणका रूपमा देखिएका छन् ।
रिचार्ज प्रणाली नअपनाउँदा पानी सडकमा सहरी क्षेत्रमा निर्माण भएका अधिकांश घरमा वर्षाको पानीलाई जमिनमुनि पठाउने भूमिगत जल पुनर्भरण (Rainwater Recharge) प्रणाली कार्यान्वयन अझै अनिवार्य हुन सकेको छैन । प्रत्येक घरधनीले वर्षाको पानी संकलन तथा पुनर्भरण प्रणाली अपनाउन सकेमा ठूलो मात्रामा पानी जमिनभित्र पठाउन सकिन्छ । तर भवन निर्माणका क्रममा यस्तो प्रणालीलाई प्राथमिकता नदिँदा वर्षाको पानी सिधै सडक, ढल र खोलानालामा पुग्ने गरेको छ । अझ विडम्बनाको कुरा, रिचार्ज प्रणाली निर्माण गरेका कतिपय घरधनीहरूले समेत वर्षायाममा छानाबाट संकलित पानीलाई रिचार्ज प्रणालीमा नहाल्ने गरेको पाइन्छ । यसले एकातर्फ भूमिगत जलस्रोतको पुनर्भरणमा बाधा पुर्याएको छ भने अर्कोतर्फ वर्षाको पानी सडक तथा ढलमा थपिँदा डुबानको जोखिम बढाएको छ । सरकारको दीर्घकालीन योजना कहाँ छ ? तीव्र रूपमा बढिरहेको सहरीकरणअनुसार आवश्यक पूर्वाधार निर्माण र पानी व्यवस्थापनको दीर्घकालीन योजना बनाउन सरकार असफल भएको नागरिकहरूको आरोप छ ।
जनसंख्या वृद्धि, बढ्दो भवन निर्माण र जलवायु परिवर्तनका सम्भावित प्रभावलाई ध्यानमा राखेर सहरी योजना निर्माण गर्नुपर्ने भए पनि हरेक वर्ष बर्खा लागेपछि मात्र डुबान नियन्त्रणका लागि सक्रिय हुने प्रवृत्ति देखिँदै आएको छ । वर्षौँदेखि डुबान दोहोरिने क्षेत्र पहिचान हुँदाहुँदै पनि समस्या समाधानका लागि स्थायी पूर्वाधार निर्माण नहुनु सरकारको योजना तथा कार्यान्वयन क्षमतामाथि नै प्रश्न बनेको छ। अवैज्ञानिक ढल व्यवस्थापनले थप्यो समस्या देशका प्रमुख सहरहरूमा अझै पनि वैज्ञानिक, एकीकृत र दीर्घकालीन ढल व्यवस्थापन प्रणालीको अभाव छ । कतिपय स्थानमा पुराना र साँघुरा ढल, अवरुद्ध जलनिकास, प्राकृतिक खोलानालाको अतिक्रमण तथा जथाभावी सडक निर्माणका कारण वर्षाको पानीको प्राकृतिक बहाव रोकिएको छ । प्राकृतिक जलनिकास मार्ग मासिँदै जाने तर त्यसको विकल्पमा पर्याप्त क्षमता भएको ढल प्रणाली निर्माण नहुने हो भने सामान्य वर्षामै सहर डुब्ने अवस्था अझ गम्भीर बन्ने विज्ञहरूको चेतावनी छ। समाधानका लागि जनतादेखि सरकारसम्म जिम्मेवारी सहरी डुबानको दीर्घकालीन समाधानका लागि घर निर्माण गर्ने प्रत्येक नागरिकदेखि स्थानीय तह र संघीय सरकारसम्म सबैले जिम्मेवारी लिनुपर्ने आवश्यकता देखिएको छ ।
सरकारले नयाँ भवन निर्माणमा वर्षाको पानी संकलन र भूमिगत जल पुनर्भरण प्रणाली अनिवार्य गर्नुपर्ने देखिन्छ । पुराना घरहरूमा समेत रिचार्ज प्रणाली निर्माण गर्न प्रोत्साहन, सहुलियत र प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक छ । त्यस्तै, प्रत्येक सहरका लागि दीर्घकालीन एकीकृत जल व्यवस्थापन योजना निर्माण गरी प्राकृतिक खोलानाला, पोखरी, जलाधार क्षेत्र र पानीको प्राकृतिक बहाव संरक्षण गर्नुपर्ने आवश्यकता छ । ढल निर्माणलाई टुक्रे विकास योजनाका रूपमा नभई वैज्ञानिक अध्ययन र भविष्यको जनसंख्या वृद्धिलाई ध्यानमा राखेर निर्माण गर्नुपर्ने देखिन्छ । राहत होइन, दीर्घकालीन समाधान चाहियो हरेक वर्ष वर्षा सुरु भएपछि सहर डुब्ने, नागरिकको जनजीवन प्रभावित हुने र त्यसपछि राहत तथा उद्धारमा राज्यको ध्यान केन्द्रित हुने प्रवृत्तिले समस्या समाधान गर्दैन ।
डुबानपछि राहत बाँड्नुको सट्टा डुबान हुन नदिने पूर्वाधार निर्माण गर्नु नै राज्यको प्राथमिकता हुनुपर्ने नागरिकहरूको माग छ । अब सरकारसामु गम्भीर प्रश्न खडा भएको छ—हरेक वर्ष सहर डुबेपछि उद्धार र राहतमा मात्र राज्यको बजेट खर्च गर्ने कि डुबानको स्थायी समाधानका लागि वैज्ञानिक, दीर्घकालीन र दूरदर्शी योजना लागू गर्ने ? वर्षाको पानीलाई समस्या होइन, स्रोतका रूपमा व्यवस्थापन गर्न सकेमा एकातर्फ सहरी डुबान नियन्त्रण गर्न सकिन्छ भने अर्कोतर्फ तीव्र रूपमा घट्दै गएको भूमिगत जलस्रोतको पुनर्भरणसमेत गर्न सकिन्छ । त्यसका लागि सरकारको स्पष्ट नीति, स्थानीय तहको प्रभावकारी कार्यान्वयन र नागरिकको जिम्मेवार सहभागिता अपरिहार्य देखिएको छ । अब सरकारसामु गम्भीर प्रश्न खडा भएको छ—हरेक वर्ष सहर डुबेपछि उद्धार र राहतमा मात्र राज्यको बजेट खर्च गर्ने कि डुबानको स्थायी समाधानका लागि वैज्ञानिक, दीर्घकालीन र दूरदर्शी योजना लागू गर्ने ? हरेक वर्ष सहर डुब्छ, सरकारको दूरदृष्टि कहिले जाग्छ ? वर्षाको पानीलाई समस्या देख्ने भन्दा त्यसलाई उपयोग गर्न तिर कहिले लाग्ने ? रिचार्ज प्रणालीदेखि ढल निकाससम्म : डुबान रोक्ने जिम्मेवारी कसको ? सहर डुबाउने पानी हो कि ? अदुरदर्सी सरकार निति कर्यक्रम ? डुबानको स्थायी समाधान कहिले महसुस गर्ने जनताले ?


















