काठमाडौं । देशभरिबाट रिक्त रहेका स्थानीय तहका २२ पदमा आगामी मंसिरमा उपचुनाव गर्ने सरकारले तयारी थालेको छ ।
निर्वाचन आयोगसँगको छलफलपछि आइतबार गृहमन्त्री रवि लामिछानले स्थानीय तहको उपचुनाव आगामी मंसिरमा गर्नेबारे छलफल भएको बताए ।
आयोगले दिएको जानकारी अनुसार कैलाली र ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुखहरुको पद रिक्त बनेको छ ।
त्यसैगरी रौटहटको मौलापुर नगरपालिकाको प्रमुख पद रिक्त रहेको आयोगको भनाइ छ ।
आयोगका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद पनि रिक्त छ ।
त्यसैगरी देशभरिका १७ वटा वडाध्यक्ष पद रिक्त रहेकाले त्यहाँ पनि उपचुनाव गर्नुपर्ने आयोगले गृहमन्त्री लामिछानेलाई जानकारी गराएको छ ।
यसअघि निर्वाचन आयोगले स्थानीय तहको उपचुनाव पनि बैशाख १५ मा इलाम र बझाङसँगै गर्न सरकारलाई सुझाएको थियो । तर, कांग्रेस र माओवादीको गठबन्धन सरकारले स्थानीय तहको उपचुनाव सँगै गर्न नमानेको आयोगका पदाधिकारीको गुनासो छ ।


















