काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वसहित सरकारमा जाने निष्कर्षमा पुगेको छ।
नाउपाभित्रको विवादपछि पहिलो पटक नाउपाका सांसद एकैठाउँमा उभिएका हुन। यो छलफलमा संरक्षक रेशम पनि उपस्थित थिए। सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। समानुपातिक सांसद इन्द्रिरा गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन्। यस्तै, उनले घनश्याम चौधरीलाई दल नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन्।
बुधबारको छलफलपछि पार्टीभित्रको विवाद मत्थर भएर आफ्नै नेतृत्वमा सरकार बनाउने निष्कर्षमा पुगेको दल नेता चौधरीको दाबी छ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि बैशाख २ गते बेलुका ५ बजेसम्म दाबी पेश गर्न समय दिएका छन्। नाउपामा विवाद चलिरहँदा सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी भएको थियो।


















