काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।
कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताए । उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताए । उनले सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ ? भन्दै प्रश्न गरे । उनले सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरबाही भएको आरोप लगाए । उनले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आइतबारदेखि पूरै काम ठप्प पारेको बताए । उनले मेसिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौती लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने घोषणा गरे ।
उनीहरुले व्यापारीहरूले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने चेतावनी दिए ।