काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्ने जनाएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
प्राध्यापक डा. अर्जुन कार्कीले विश्वविद्यालयको र प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता, क्षमता र प्रतिविद्धताकै आधारमा छान्नुपर्ने बताए । उनले दलीय निकटताको हिसाबले नभएर योग्य मानिस र क्षमतावान् मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने धारणा राखे ।
त्यस्तै उद्यमी र वैज्ञानिक डा. प्रतिभा पाण्डेले शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रधानमन्त्रीको प्रतिबद्धता रहेको भन्दै सबै राजनीतिक दलहरूले पनि राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रतिबद्धता जनाउनुपर्ने जनाइन् । उनले सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाए मात्रै देशले फड्को मार्ने जनाइन् ।
उनले भनिन्, ‘हेर्दा शैक्षिक संस्थालाई सुधार गर्नुपर्छ भन्नु भनेको शैक्षिक संस्थाबाटै देशको भविष्य निर्माण गर्ने हो र देशको भविष्य दिनको तीन सयको दरले विदेशमा जाने हो भने यो सम्भव छैन । नैराश्यजनक स्थितिलाई हामीले आशाजनक स्थितिमा लैजानुपर्छ । त्यसका लागि राजनीतिक हस्तक्षेप नभई योग्यताको आधारमा शैक्षिक संस्थाहरूमा राम्रो मान्छे लिएर आए सुधार हुन्छ । देश बनाउने हो भने शैक्षिक संस्था अर्थात् जरालाई नै पानी र मल दिनुपर्छ । युवाहरूको पलायन हुँदै जाने र फर्किन नैराश्य हुने स्थिति परिवर्तन गर्नुपर्छ ।’
भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्बन गर्ने जनाए । प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा डा. गौरीशंकरलाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रूइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असिम ढकाल, डा. भगवान् कोइराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमा लगायत ६६ जना प्राज्ञिकहरू छन् ।
















