एजेन्सी । थाइल्यान्डमा लुबाट ३० जनाको मृत्यु भएपछि बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ। तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन्।
तापक्रम सूचक (आद्रता, हावाको गति र अन्य कारकहरूलाई ध्यानमा राख्दै महसुस गरिने तापक्रमको मापन) बैङ्ककमा ‘अत्यन्त खतरनाक’ स्तरमा रहेको सहरको पर्यावरण विभागले चेतावनी दिएको छ। मुलुकको ग्रामीण उत्तरपूर्वमा रहेको उडोन थानी प्रान्तका अधिकारीहरूले पनि बिहीबार तीव्र तापक्रमको चेतावनी दिएका छन्।
थाइल्यान्ड र दक्षिणपूर्वी एसियाका मुलुकहरूमा अप्रिल सामान्यतया वर्षको सबैभन्दा तातो समय हो तर यस वर्ष अल निनो मौसमी ढाँचाले गर्मीलाई अझ बढाएको छ। गत वर्ष विश्वभर गर्मीको तनाव रेकर्डस्तरमा देखिएको थियो। संयुक्त राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसिया विशेषरूपमा द्रुत गतिमा तातो भइरहेको जनाएको थियो।
यस साता थाइल्यान्डमा भीषण गर्मी अनुभव गरिएको छ। सोमबार उत्तरी प्रान्त लाम्पाङमा ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। यो गत वर्षको ४४ दशमलव छ डिग्री सेल्सियसको सर्वकालीन राष्ट्रिय रेकर्डभन्दा केही कम हो। सीमामा रहेको म्यान्मामा बुधबार तापक्रम ४५ दशमलव नौ डिग्री सेल्सियससम्म पुगेको थियो र बिहीबार पनि तापक्रम यति हुने अपेक्षा गरिएको छ। सन् २०२१ को सैन्य विद्रोहबाट उत्पन्न अराजकता र सङ्घर्षका कारण म्यान्माका अधिकांश भागमा विद्युत् बन्द भएको छ। यसबाट मानिसहरूलाई पङ्खा र एयर कन्डिसनका साथ चिसोमा बस्न अवरोध पुगेको छ।


















