काठमाडाैं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
ढाकामा यही वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसरको आज भक्तपुरमा आयोजित कार्यक्रममा बिदाइ गरियो ।
खेलाडी सुरेश मल्ल, यज्ञराज जोशी, अभिषेक थापा, पुष्कल थापा, दीपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामीमगर र भुवन तामाङ बङ्गलादेश प्रस्थान गरेको टिम म्यानेजरसमेत रहनुभएका दीपक थापाले जनाए । प्रतियोगितामा भाग लिन आजै टिम म्यानेजर थापासहित प्रशिक्षक उत्सव खड्का र सहायक प्रशिक्षक जनकबहादुर खड्का ढाका प्रस्थान गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष एवं टिम म्यानेजर दीपक थापाको नेतृत्वको टोलीले सहयोग रकम सङ्कलन गरी त्यसतर्फ लागेको छ । सरकारी निकायबाट सहयोग नभएपछि सहायता फाउण्डेशनका अध्यक्ष राजु ढुंगेल, व्यवसायी लक्ष्मण अवाल र थापा आफैंले रकम जुटाएको थियाे ।

















