काठमाडौं / काठमाडौंमा आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनमा आजै पहिलो सम्झौता भएको छ ।
सम्झौताबमोजिम वसन्त चौधरीको बीएलसी होल्डिङ र भारतीय योट्टा डाटा सेन्टरबीच साढे तीन अर्ब लगानीमा काठमाडौंको रामकोटमा डाटा सेन्टर निर्माण गरिने भएको छ ।
सम्मेलनमा होल्डिङका तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टा डाटा सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौता गरेका छन् ।
उक्त सेन्टरले ४ मेगावाटसम्मको महत्वपूर्ण डाटा लोड सेवा प्रदान गर्नेछ । सेन्टर दुई वर्षभित्र निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जनाइएको छ । योट्टा डाटा सेन्टर भारतीय बहुराष्ट्रिय कम्पनी हिरानन्दानी ग्रुपको सहायक कम्पनी हो ।


















