इङ्ल्यान्ड ‘सी’सँग मैत्री फुटबल खेल्न जाने नेपाली टोलीकाे बिदाइ

26

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इङ्ल्यान्ड ‘सी’सँग मैत्री फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।

सोमबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रमममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई लगायतले टोलीलाई बिदाइ गर्नु भयाे  ।

राजदूत फेनले बच्चा बेला आफूले पनि फुटबल खेल्ने गरेको स्मरण गर्दै नेपाली टोलीलाई सकारात्मक नतिजाका लागि शुभकामना दिए ।

एन्फा अध्यक्ष नेम्बाङले यस खेलका लागि पहल गर्ने पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई आभार व्यक्त गर्दै कोभिड १९ ले गर्दा यसअघि हुन नसकेको खेल अहिले हुन लागेको जनाए । कार्यक्रममा एन्फा अध्यक्ष नेम्बाङले बेलायती राजदूत फेनलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए । नेपालले वैशाख २४ गते (मे ६) मा अल्डरसटमा इङ्ल्यान्ड ‘सी’ सँग मैत्री खेल खेल्दैछ । उक्त खेलका लागि नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो एल्बर्टो एनेसले सोमबारै २३ सदस्यीय टोली घोषणा गरेका छन् ।

नेपाली टोलीमा गोलकिपरमा किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार रहेका छन् । डिफेन्डरमा  छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द र तथा मिडफिल्डरबाट फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनीष डाँगी, लकेन लिम्बु साथै फरवार्डबाट दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट खेलाडीहरू रहेका छन् ।

यसका साथै हेड अफ डेलेगेट्स मनिष राज जोशी, म्यानेजर  उत्तम राज भण्डारी, अफिसियल पुरुषोत्तम थापा, मुख्य प्रशिक्षकमा भिनसेन्जो अल्बर्टो एनेस, सहायक प्रशिक्षकमा प्रवेश कटुवाल, गोलकिपिङ प्रशिक्षक  विनोद डंगोल, फिजियो  लोकेन्द्र कुँवर  रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here