उपचुनावको परिणामले दिएको सन्देश

4

काठमाडौं / देशमा हालै भएको उपनिर्वाचनमा एमालेले जित हासिल गरेको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन र बझाङमा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार क्रमशः सुहाङ नेम्वाङ र दमनबहादुर भण्डारीले जित हासिल गरेका हुन् ।

यो उपनिर्वाचनको परिणामले फेरि एकपटक जनमत कम्युनिस्ट पार्टी तथा एजेन्डामा अझै पनि रहेको स्पष्ट पारेको छ । विगतमा वाम गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा गर्दा जनताले उक्त गठबन्धनलाई दुई तिहाइको हाराहारीमा मत दिएको थियो । त्यसपछि डबल नेकपा गठन भए पनि नेताहरुले त्यसलाई एकताबद्ध राखिराख्न भने सफल भएनन् । त्यसयता छिन्नभिन्न भएका वामपन्थी दलहरु अहिले फेरि एकत्रित भएका छन् । भलै त्यो उपनिर्वाचनमा भने देखिएन ।

अहिले सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरुले सहकार्य गरेका छन् । इलाम उपनिर्वाचनमा माओवादीले उम्मेदवार नउठाएर एमालेलाई समर्थन गरेको थियो । बझाङमा भने यी सबै कम्युनिस्ट दलका उम्मेदवार चुनावी मैदानमा थिए । वाम दलहरुले सहकार्य नगर्दा पनि दुवै स्थानमा वामपन्थी दल एमाले नै विजयी हुनुले अहिले पनि देशमा जनमत वामपन्थी दलहरुमाथि नै रहेको स्पष्ट हुन्छ ।

एउटा कोणबाट २०८४ को आमनिर्वाचनका लागि ‘प्रि–इलेक्सन पोल’ मानिएको यो उपनिर्वाचनले प्रमुख राजनीतिक दलसहित पहिचानवादीहरुको जनमत प्रष्टाएको छ । वामपन्थी दलहरु एक हुन सकेमा आगामी निर्वाचनमा उनीहरुले बहुमत हासिल गर्न सक्ने दिशानिर्देश पनि यो उपनिर्वाचनले गरेको छ ।

कोशी प्रदेशको राजनीतिमा अहिले पहिचानको माग जबर्जस्त ढंगले उठेको छ । विशेषगरी प्रदेशको नामकरणको विषयमा पनि यहाँको जनसमुदाय असन्तुष्ट छ । त्यो असन्तुष्टिको झलक पहिचान पक्षधरको तर्फबाट स्वतन्त्र डकेन्द्र थेगिमलाई उठाएर देखाएको थियो । थेगिमको मुढा चिह्नलाई कतिपय वडाबाट एक पक्षीय रुपमा मत आएको थियो । त्यसैले आगामी दिन र चुनावमा कोशीमा पहिचानको मुद्दा जबर्जस्त ढंगले उठ्ने देखिएको छ । यस्तो हुनुको कारण हो, विगतमा दलहरुले पहिचानको मुद्दासहित जनतासँग गरेको वाचा पूरा नहुनु । प्रदेश स्थानीय जनताको भावनाअनुसार चल्न नसक्नुले पनि यो मुद्दा अब केन्द्रीय राजनीतिसम्म पुगेको छ ।

इलाम–२ एमालेको गढको रुपमा परिचित छ । त्यो विरासत यसपटक पनि एमालेले कायम राखेको छ । यसअघि एमालेका सुवास नेम्वाङ यो क्षेत्रबाट लगातार सांसदको रुपमा चयन हुँदै आएका थिए । गत वर्ष उनको हृदयाघातबाट निधन भएपछि उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएका थिए, जसलाई इलाम–२ का जनताले अनुमोदन पनि गरेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैला चुनावले आफ्नो दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको देखाएको बताउँछन् । ‘अन्य राजनीतिक पार्टीमा सङ्गठित व्यक्तिले पनि ‘सूर्य’लाई मत हालेको देखिन्छ । विचारका हिसाबले आफ्ना दलको नेतालाई मान्ने तर मुलुक सञ्चालनको जिम्मेवारीमा एमाले खोज्ने प्रवृत्ति मतदातामा देखियो । यो एमालेका लागि नयाँ जिम्मेवारी पनि हो,’ उनले भने ।

पहिचानका नाममा अतिवादी प्रवृत्तिलाई समाप्त पारिएको जनाउँदै उनले जनताले युवालाई अनुमोदन गरेको स्पष्ट देखिएको दाबी गरे ।
इलाम–२ मा एमालेको जित हुनुको अर्को कारण हो, कांग्रेसको कमजोरी र अन्तर्घात । एमालेले इलामका लागि सर्वसम्मत रुपमा सुहाङलाई धेरैअघि नै उम्मेदवार घोषणा गरेको थियो । सुहाङले घरदैलो कार्यक्रम थालिसक्दा कांग्रेस भने उम्मेदवार चयनको विवादमा रुमल्लिएको थियो ।

उम्मेदवारी दर्ताको अन्तिम समयसम्म पनि संस्थापन पक्षले डम्बर खड्का र इतर पक्षले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने लबिइङ गरेका थिए । अन्ततः कांग्रेस सभापति शेरबहादुर देउवाले खड्काको नाम नै अनुमोदन गरेका थिए । उम्मेदवार चयनको क्रममा नै दुई पक्ष देखिएको कांग्रेसमा चुनावको क्रममा पनि उस्तै अवस्था देखिएको छ । आफूभित्रको कलहले खड्काको पक्षमा जितका लागि पर्याप्त मत आउन सकेन मात्र होइन, उनले यसअघिको चुनावमा पाएको मत पनि जोगाउन सकेनन् ।

एक्लै निर्वाचन लड्ने आँट गर्न नसक्दा र कतैबाट साथ नपाउँदा यसपटक माओवादीले उम्मेदवार उठाउनै सकेन । सत्तारुढ माओवादीको इलाम जिल्ला समितिले एकल रुपमा धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवारको सिफारिस गरेको थियो । तर, सम्भावित परिणाम आकलन गर्दै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई समर्थन गर्ने निर्णय लिए ।
अघिल्ला चुनावमा पनि कहिले एमाले त कहिले कांग्रेसलगायत दलसँग गठबन्धन गरेर चुनावमा भिडिरहेको माओवादी अब एक्लै चुनावी मैदानमा ओर्लन नसक्ने अवस्थामा पुगेको विश्लेषण गरिएको छ । त्यसकारण माओवादी लगायत वामपन्थी दलहरुबीच सहकार्य अब अनिवार्य भइसकेको छ ।

नयाँ दल रास्वपाको भने पार्टी स्थापनाको डेढ वर्षमै क्रेज सकिएको छ । रास्वपाले इलाममा मिलन लिम्बूलाई उम्मेदवार उठाएको थियो । तर, सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि लिम्बूको जमानत जफत भएको छ । लिम्बूलाई भोट माग्न रास्वपा सभापति रवि लामिछानेलगायत नेता पटकपटक इलाम पुगेका थिए । तर, पछिल्लो समय आफैं विभिन्न प्रकरणमा मुछिएका लामिछाने नै विवादको घेरामा परेपछि उनले पनि मतदातालाई आकर्षण गर्न सकेनन् ।

लिम्बू स्वयं माओवादीका कार्यकर्ता हुन् । उनी रास्वपाको उम्मेदवार हुनुअघिसम्म माओवादीको प्रेस सेन्टरका सचिव थिए । बलियो उम्मेदवार नहुनु, कमजोर संगठन, रास्वपाका नेताहरु विभिन्न विवादमा पर्दै जानुजस्ता कारणले रास्वपा नराम्ररी पराजित भएको हो । यो निर्वाचन परिणामले मिसन ८४ को नारा लिएको रास्वपालाई नराम्ररी झड्का पनि लागेको छ । जनधारणा साप्ताहिक

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here