जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरुसँग ठगी गर्ने पक्राउ

7

काठमाडौं । जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो। उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन्। श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका–१ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जनाए।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंकसमेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायणबहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदासमेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाइ ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको उनले जनाए।

उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको जनाए।

त्यस्तै, राजन श्रेष्ठलाई बिहीबार काठमाडौंको कागेश्वरी मनहरा–७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौँ महानगरपालिका–२९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको एसएसपी भट्टराईले जानकारी दिए।

नारायणबहादुर राई भन्ने राजन श्रेष्ठले ‘मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डेको खातामा रकम जम्मा गर्न’ भन्ने गरेको देखिएको उनको भनाइ छ।

वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याएर बुझ्दा उनको नागरिकता १५/१६ वर्ष अगाडि हराएको र विगत ३ वर्षदेखि पठाओ चलाएर जीविका चलाउने सामान्य व्यक्ति रहेको र उनले हालसम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको खुल्न आएको एसएसपी भट्टराईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here