आगलागी प्रभावित जनतालाई ५० हजार राहत उपलब्ध गराउने

46

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको जनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे।

मिटरब्याजपीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए।

तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै उनले भने, ‘मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकतत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ।’

मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै उनले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गरे।

उनले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘आगलागी पीडितलाई राहत उपलब्ध हुन्छ,’ उनले भने।

उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए। प्रधानमन्त्री दाहालले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here