काठमाडाैं । रूसी सेनामा भर्ती भएका नेपालीहरूको परिवारले अनसन स्थगित गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र पठाएपछि उनीहरूले १७ औं दिनमा आइतबार अनसन तोडेका हुन्।
रूसको सेनामा भर्ती भएकाहरूलाई नेपाल फिर्ता ल्याउन, मृत्यु भएकाहरूको शव ल्याउन लगायतका माग राख्दै उनीहरूका आफन्त रत्नपार्कस्थित गणेश मन्दिर परिसरमा अनसन बसेका थिए। आइतबार प्रधानमन्त्रीको कार्यालयले रूसी सेनामा भर्ती भएकाहरूको जीवन प्रतिरक्षाका लागि सरकार प्रतिबद्ध रहेको र उनीहरुलाई सकुशल फिर्ता ल्याउन पहल गरिरहेकाले अनसन स्थगित गर्न अनुरोध गरेको थियो।
‘हाम्रो मागप्रति सरकारले चासो देखाएको छ।भोकै बस्दा साथीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले अनसन तोडेका हौं,’ उनले भनिन्। वैशाख ६ गतेदेखि १३ बुँदेमाग राख्दै कृतु भण्डारी, ३७ वर्षीया सिरानी घर्तिमगर र ४९ वर्षीया किसान थापा अनसन बसेका थिए।


















