काठमाडौं । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ ।
यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको छ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुको समेत सल्लाह सुझाव र अध्ययन पश्चात उक्त चरा नेपालका लागि नयाँ भएको निष्कर्षमा पुगेको नेपाल पन्छीविद संघले जनाएको छ ।
याे चरा नेपालको छिमेकी देश चीनका विभिन्न ठाउँमा पाइने र त्यहाँ प्रजनन् पनि गर्ने नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुली सुवेदी बताउँछन् । जाडोयाममा यी चरा नियमित रुपमा दक्षिणतिर बसाइँ सर्दछन् र दक्षिणपूर्वी चीन र ताइवानमा जाडो बिताउँछन् ।
लोमान्थाङमा भेटिएको यो चरा प्रजनन् क्षेत्रमा फर्किने बाटोमा फिरन्ते रुपमा आइपुगेको अनुमान गरिएको छ ।

















