चिनियाँसँग नक्कली विवाह गराई नेपाली महिलाको बिक्री

25

काठमाडौं । एक जना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पाँच लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले पाँच लाख रुपैयाँ लिएर चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पीडित महिलालाई चीन पुर्‍याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो।

पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग विहे गरेपछि ग्रीनकार्ड बनाउन मिल्छ, त्यसपछि नेपाल आउन-जान पाइन्छ अनि भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी अदालतमा लगेर विवाह गराएर बेचविखन गरेको पाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

घलेले आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० वैशाख १ गते चीन पुर्‍याएर आफू नेपाल फर्किएकी थिइन्। त्यसपछि चिनियाँ नागरिकले जबर्जस्ती वेश्यावृत्तिमा लगाएको पीडितले बयान दिएकी ब्यूरोले जनाएको छ।

पीडित महिलाले आफन्तलाई जानकारी गराएपछि बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा २०८० असार १ गते उनको उद्धार गरिएको थियो। खोजतलासका क्रममा ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौंको ठमेलबाट घलेलाई पक्राउ गरी अहिले अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here