महिनावारीलाई मर्यादित बनाउन स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड

27

काठमाडौं ।  सरोकारवालाले महिलाको महिनावारीलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय सरकारले पनि काम गर्नुपर्नेमा जोड दिएका छन्।

१० औँ महिनावारी स्वच्छता दिवसको सन्दर्भमा शनिबार राष्ट्रिय महिनावारी सञ्जालले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनीहरूले स्थानीय तहमा अभियान नै चलाएर स्वच्छ महिनावारीबारे जनस्तरमा चेतना जगाउनुपर्ने जनाए।

वियोण्ड बेइजिङ कमिटी (बीबीसी) नेपालकी अध्यक्ष कृष्णकुमारी वाइबाले विद्यालय तहका पाठ्यक्रममा महिनावारीबारे सामग्री अपर्याप्त भएको बताइन्। विद्यालय तहबाट विद्यार्थीलाई यसबारे जानकारी दिने हो भने स्वच्छ महिनावारीको अवधारणालाई बल पुग्ने उनको भनाइ छ।

कार्यक्रमका अन्य वक्ताले नेपालमा महिनावारीको वेला प्रयोग गर्ने प्याडको गुणस्तरबारे प्रश्न उठ्ने गरेको भन्दै यसबारे गम्भीर बन्न सरकारसँग आग्रह गरे।

कार्यक्रममा बीबीसी नेपाल र राइट हियर राइट नाउ संस्थाको सहयोगमा यही मे २८-२९ मा महिनावारी स्वच्छता दिवस मनाउन लागेको जानकारी दिइयो। यसअन्तर्गत जेठ १६ गते सरोकारवालासँग ‘प्यानल डिस्कसन’ गर्ने संस्थाले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य प्राडा संगीता सिंह, पूर्वमन्त्री रामकुमारी झाक्री, गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे , नीलहिरा समाजकी संस्थापक भूमिका श्रेष्ठ र महिनावारी सञ्जालका संस्थापक गुणराज श्रेष्ठ हुनेछन्। यसअघि जेठ १५ गते भक्तपुरबाट शुरु गरेर ललितपुरको मंगलबजारमा समापन गर्नेगरी साइकल यात्रा निकालिने छ।

सन् २०१४ मे २८ मा जर्मनीमा शुरु गरिएको यो दिवस नेपालमा २०१८ देखि मात्र मनाउन थालेको सञ्जालका संस्थापक तथा राष्ट्रिय संयोजक श्रेष्ठले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here