काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेकाले मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी रहेको बताएका छन् ।
यद्यपि उनले मधेसमा जसपा विभाजनपछि समस्या आएको भन्दै आफूहरू अहिलेसम्म पहिलाको सहमति अनुसार नै सरकारमा रहेको जनाए ।
उनले आफूहरू केन्द्र सरकारमा पनि रहेको भन्दै मधेसमा पनि पहिलादेखि नै सरकारमा रहेको निरन्तरता भएको बताए । ‘अस्ति मात्र एमाले र माओवादी केन्द्रसँग वार्ता र संवाद भयो । वार्ताको क्रम चलिरहेको छ । भर्खर मात्र प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर आएको छु’, उनले त्यही क्रममा केही दिनअघि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको निवासमा पनि अन्य दलका नेतासँग कुराकानी भएको जनाए ।
देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले छलफल गरे पनि कमिटमेन्ट नगर्न भनेकाले कमिटमेन्ट नगरेको बताए । ‘कमिटमेन्ट फाइनल नगरिदिनुहोला भनेर प्रमले भन्नुभयो’, अध्यक्ष नेपालले भने, ‘यसरी नै संवाद र छलफल भइरहेको छ । संवादमा विश्वास चाहिन्छ । विश्वासको आधारमा सहमति हुन्छ’, नेपालको भनाइ छ । उनले सरकारबाट हटौँ र नहटौँ भन्ने दुवै मत रहेको पनि जनाए ।


















