सप्तऋषिको पूजा गरेर ऋषिपञ्चमी पर्व मनाउँदै

87

काठमाडौं । नेपाली नारीहरुले आज हरितालिका तीज अन्र्तगत सप्तऋषिको पूजा गरेर ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषिपञ्चमी पर्व मनाइन्छ।

आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषिपञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार बताउँछन्।

यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।

स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ। ऋषिपञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। यही विश्वासका साथ काठमाडौंको गौरीघाटमा स्नान र पूजा गर्नेहरु भेला भएका छन्।

यस अवसरमा आज काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा गर्ने श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ। कतिपय महिलाहरुले घरमै पनि सप्तऋषिको पूजा गर्दछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here