भक्तपुर नगरपालिकामा स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न उक्त समारोहमा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख स्काउट नपाका उपप्रमुख रजनी जोशी र सदस्य सचिव नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दीक्षित गरेका थिए ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक सुनिल प्रजापतिले संकटको समयमा निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्नु नै स्वयंसेवा भएको बताउँदै संकटको समयमा नेपाल स्काउटका गतिविधिले अझ व्यापकता लिने विश्वास गरे । देशको अस्तित्व र सार्वभौमसत्तासँग जोडिएको सन्धि सम्झौताको विषयमा स्काउटरहरूले जानकारी राख्नुपर्ने र देशघाती सम्झौताको विरुद्धमा आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले भक्तपुर नगरपालिका स्थानीय स्काउट तदर्थ समितिलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
देशको भविष्य युवा पुस्ताको हातमा हुने बताउँदै प्रमुख प्रजापतिले संकटको समयमा साहसिक कामका लागि नेपाल स्काउटले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताए । उनले कोभिड महामारी नियन्त्रणमा भक्तपुर नपाले स्काउट परिचालन गरी विविध गतिविधिलाई जोड दिँदै आएको बताउँदै भक्तपुर नपाले स्काउट परिचालन गरी पाक्षिक सरसफाइको अभियान सञ्चालन गर्दै आइरहेको बताए ।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट एउटा स्वयंसेवी संस्था भएको बताउँदै नेपालको ७५३ वटै स्थानीय तहमा नेपाल स्काउट गठन भइसकेको जानकारी गराए । स्थानीय तहका बालबालिकाको संरक्षण गर्न र स्काउटिङ शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले यसले विद्यार्थीलाई समुदायमा गएर काम गर्न प्रेरित गर्ने बताए ।
भक्तपुर नपाका उपप्रमुख तथा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय प्रमुख स्काउट रजनी जोशीले अनुशासन र इमानदारिता असल विद्यार्थीको पहिचान भएको बताउँदै सभ्य समाज निर्माण गर्न र इमानदार नागरिक तयार गर्न नेपाल स्काउटको भूमिका प्रशंसनीय रहेको बताइन् ।


















