–राज्यलक्ष्मी शाक्य
नेपालको वैदेशिक व्यापार वार्षिक रूपमा निकै कमजोर सावित हुँदै आएको छ । वैदेशिक व्यापारमा नेपालले घाटा व्यहोर्दै आएको दशकौं भए पनि अहिलेसम्म नेपालले यसको न्यूनीकरणका लागि ठोस रणनीति लिन सकेको छैन । फलस्वरूप नेपालले निर्यातको उच्च सम्भावना देखिएका वस्तुहरूबाट समेत लाभ लिन सकेको छैन र वार्षिक रूपमा खर्बाैंको व्यापार घाटाको चेपुवामा पर्दै आएको छ । यो क्रम चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चौमासिकमा समेत दोहोरिएको छ ।
गत आर्थिक वर्षदेखि नेपालको वार्षिक बजेट १५ खर्ब पुगेको छ, भने विगत वर्षहरूदेखि नै वैदेशिक व्यापार घाटा पनि वार्षिक वजेटको तथ्यांकलाई पछ्याउँदै आएको देख्न सकिन्छ । गत वर्ष २०७५÷७६ मा पनि १२ खर्बको व्यापार घाटा नेपालले बेहोरेको थियो भने यो चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चौमासिकमा नै नेपालले ४ खर्ब १४ अर्ब रूपैयाँको व्यापारघाटा बेहोरिसकेको छ । यही वृद्धि कायम रहने हो भने नेपालले चालू आर्थिक वर्षमा पनि १२ खर्बभन्दा बढि व्यापार घाटा बेहोर्ने निश्चित छ ।
यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ८४ अर्ब रहेको छ, भने यसमा नेपालको हिस्सा जम्मा ७ दशमलव ५ प्रतिशत रहेको छ । अर्थात् वैदेशिक व्यापारमा नेपालले ३६ अर्ब २८ अर्बका वस्तुहरूमात्रै निर्यात गर्न सफल भयो, जबकी नेपालले यो अवधिमा ४ खर्ब ५० अर्बको वस्तु आयात गरेको छ । यद्यपि नेपाल वैदेशिक व्यापारमा गत वर्षभन्दा ५ दशमलव २ प्रतिशतले कमी आएको छ ।
नेपालको वैदेशिक व्यापारघाटाका आयामहरू धेरै छन् । नेपालले आयात गर्ने वस्तुहरू उच्च मूल्यका हुँदा पनि नेपालको व्यापारघाटामा तीव्र असन्तुलन देखिन्छ । जस्तो कि नेपालले निर्यात गर्ने झण्डै एक दर्जन वस्तुहरूको कूल मूल्यलाई जोड्दा नेपालले आयातित गर्ने पेट्रोलियम पदार्थकोे मूल्य बराबर हुन आउछ । यो अवधिमा नेपालले ५८ अर्ब ४४ करोडको इन्धन आयात गरेको छ । जब कि नेपालले विश्व बजारमा निर्यात गर्ने ऊनी गलैंचा, तयारी पोशाक, अलैंची, चिया, जुस, पश्मिना, फेल्ट, जुट, अदुवा, भटमासको तेल, फलाम तथा स्टील, पोलिष्टार तथा धागो निर्यात गर्दा आधा खर्बको मूल्य पनि प्राप्त गर्न सक्दैन ।
त्यसो त, पछिल्लो समयमा विदेशबाट कच्चा पाम तेल आयातलाई प्रशोधन गरी निर्यात गर्दा भने नेपालको निर्यातमा केही सुधार भने देखिएको छ । नेपालमै उत्पादन भएका वस्तुहरू निर्यातले मात्रै नेपालको वैदेशिक व्यापारमा सुधार हुनु दुर्लभ नै देखिन्छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा ८ अर्ब ३७ करोडको पाम तेल निर्यात भएको छ । यो नेपाली उत्पादन यत्रो रकमा निर्यात भएको देख्न सकिँदैन ।
कतिपय वस्तु निर्यात मूल्य त करोडमै सीमित भएको पाइन्छ । नेपालबाट २ अर्ब ८ करोडको पोलिष्टर तथा अन्य धागो निर्यात भएको छ, भने २ अर्ब ३६ करोडको फलाम तथा स्टील र तिनका उत्पादनहरू यस अवधिमा निर्यात भएको छ । यसैगरी २ अर्ब ५७ करोडको गलैंचा, २ अर्ब ४४ करोड मूल्य बराबरको तयारी पोशाक निर्यात भएको छ । यसैगरी यस अवधिमा नेपालले ४२ अर्ब ८० करोडका फलाम तथा स्टीलका उत्पादनहरू, मेशिनरी तथा पार्टसपुर्जा आयातमा ३७ अर्ब ३१ करोड खर्च गरेको छ । यातायात तथा यसका पार्टस्पुर्जा खरिदमा ३४ अर्ब ७५ करोड, इलेक्ट्रिक तथा यसका सामग्री आयातमा २२ अर्ब १८ करोड, तयारी पोसाक आयातमा १५ अर्ब ५ करोड, हवाइजहाजका सामग्रीहरू आयातका लागि १० अर्ब ५९ करोड रूपैयाँ बाहिरिएकोे केन्द्रको तथ्यांकले देखाउँछ । नेपाल खुला आर्थिक व्यवस्थालाई अनुशरण गर्ने देश भएकाले विश्व बजारमा र विश्व व्यापार संगठनको सदस्य भएको हिसावले पनि वस्तु निर्यातको रणनीतिलाई बलियोे बनाउन जरुरी छ । विश्व बजारसँग लविङ गर्ने संरचना पनि सवल बनाउनुपर्छ ।
नेपालले आफ्नो बजार रणनीतिमा पुरानै ढाँचा अनुसरण गरिरहँदा र रचनात्मक उपायका साथसाथै विश्व बजारमा आफ्ना वस्तुहरूको प्रचारप्रसार, गुणस्तरमा कम ध्यान दिँदा नेपालको वैदेशिक व्यापारघाटामा सुधार हुन सकेको छैन । नेपालका उत्पादनलाई उपयोगमा जोड दिदैं प्रोत्साहन गर्ने, नयाँ प्रविधिको प्रयोग गर्दै नेपालमा उत्पादन हुनसक्ने फलाम तथा स्टीलहरूको उत्पादनलाई प्रोत्साहन गर्दै निर्यातमा सरकारले सहयोगी भूमिका खेल्ने, विदेशिने युवालाई आकर्षक प्याकेजमार्फत प्रोत्साहन गरी स्वदेशमै परिचालन गर्ने, भरपर्दाे बजार खोज्न सरकारले ठोस कदम चाल्ने र बजार र मूल्यको ग्यारेन्टी गर्ने, सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तु तथा उत्पादन उपयोगलाई अनिवार्य गरी कार्यान्वयनमा पनि ल्याउने र औद्योगिक क्षेत्रको परिचालन तथा सही उपयोग गर्न जरुरी छ । यी विषयममा ध्यान दिने हो, भने नेपालले वैदेशिक व्यापार घाटामा कमी ल्याउन सक्नेछ । – जनधारणा साप्ताहिक

















