काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेस सरकारकाे विषयमा पार्टीले निर्णय नगरेकाे जनाएका छन्।
आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष नेपालले दुईवटा डुंगामा खुट्टा राखेर अघि नबढ्ने जनाए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेस सरकारकाे विषयमा कुरा भएकाे जनाए।
‘मधेस सरकारको विषयमा पार्टीमा निर्णय भएकाे छैन। हामी जसपासँगको सहकार्यको कारण मधेसमा त्यसको निरन्तरता होस् भन्ने हिसाबले छ्लफलमा गएका हौं। हामी दुईवटा डुंगामा खुट्टा राखेर अघि बढ्दैनौ। मधेस सरकारको विषय आज पनि प्रधानमन्त्रीसँग कुरा भयो। कुरा सकारात्मक भएको छ। तर टुङ्गिएको छैन। जे गर्छ पार्टीले औपचारिक निर्णय गर्नेछ,’अध्यक्ष नेपालले भने।
उनले बुढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जाँदा प्रधानमन्त्रीलाई फोन गरेकाे पनि जनाए। नेकपा एकीकृत समाजवादीले जेठ १६ गतेबाट २० गतेसम्म महाधिवेशन गर्दैछ।


















