काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सम्बोधन गर्ने बेला संसदमा शीर्ष नेता र मन्त्रीहरु नै अनुपस्थित भएपछि असन्तुष्टि पोखेका छन्।
बिहीबार आफ्नो भारत भ्रमण, राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण र प्रश्नोत्तरका लागि दाहाल उपस्थित हुँदा संसदमा दलका मुख्य नेताहरु नदेखेपछि असन्तुष्टि जनाएका हुन्।
दाहालले सम्बोधन गरिरहँदा शीर्ष नेतामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा मात्रै उपस्थित थिए भने दलका मुख्य नेताहरुका लागि छुट्याइने कुर्सीको पहिलो रो खाली थियो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु उपस्थित थिएनन्।
संसदीय परम्परामा प्रधानमन्त्री र विपक्षी दलका नेताहरुले सम्बोधन गर्ने दिन सबै जसो नेताहरु उपस्थित हुने परम्परा छ। पछिल्लो समय यो परम्परा तोडिन थालेको गुनासो प्रधानमन्त्री दाहालले रोष्ट्रमबाटै गरे।
‘म जाँदाजाँदै एउटा कुरा मानीय ज्यूहरुसँग राख्न चाहन्छु। हाम्रो संसदको प्रचलन गरिमा जने भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्ता पक्ष पनि प्रतिपक्ष पनि सबै नेताहरु सबै माननीय ज्यू सदस्य ज्यूहरु, मन्त्रीहरु उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो, प्रधानमन्त्री दाहालले अगाडि भने, ‘तर अब त्यो क्रमश पातलिन थालेको छ। यसले अमुक प्रधानमन्त्रीलाई अवमुल्यन गरेको पक्कै होइन होला, यो प्रक्रिया जारी रह्यो भने आफूले आफैँलाई अवमुल्यन गरेको ठहरिन्छ भन्ने विश्वाससहित बिदा हुन्छु।’


















