एसइई कप २०२४ को उपाधि अभिक शाहले जिते

30

काठमाडाैं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसइई कप २०२४ र्‍यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन्। स्वीस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै उनले ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन्।

शीर्ष वरीयताका खेलाडी पुरूषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए। तर, टाइब्रेकरको आधारमा पुरूषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अधिकले गोल्डेनगेट एसइई कप २०२४ को उपाधि कब्जा गरेका हुन्। अभिक र पुरूषोत्तमबीच पाँचौं चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो। त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए।

विभूषित कायस्थ ५ अंक जोड्दै तेस्रो स्थानमा रहे। रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अंक बनाएका थिए। तर, टाइब्रेकरको आधारमा विभूषित सबभन्दा अगाडि रहँदै तेस्रो भएका हुन्।

गोल्डेनगेट इन्टरनेसनल कलज, बत्तीसपुतलीमा सञ्चालित प्रतियायेगितामा ३ अंक जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशु दिल प्रजापतिले गर्लसतर्फ पहिलो स्थान हात पारिन्। कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भए। दुवैले समान २ अंक बटुलेका थिए। टाइब्रेकरको आधारमा कृशला दोस्रो भएकी हुन्।

प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनै पनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छात्रवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रालाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन्। त्यस्तै, सहभागि सबै खेलाडीलाई एक तिहाई ३३.३३ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरिएको छ।

एसइई परीक्षा दिएका ४१ खेलाडी सहभागि प्रतियोगितामा खुला तथा गर्लस दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रूपैयाँ, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाल लगायतले पुरस्कार वितरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here