एजेन्सी / अमेरिकाको दबाब र अपमान आफ्नो देशले नसहने र त्यसको अगाडि नझुक्ने इरानी सर्वोच्च नेता अयातुल्लाह अली खोमेनीले बुधबार जनाएका छन् । अमेरिकाले हालै खोमेनी र उनका सहयोगीमाथि नयाँखाले प्रतिबन्ध लगाएको छ ।
तेहरानमा इरानवासीलाई सम्बोधन गर्दै उनले भने, ‘‘इरानी नागरिक आफ्नो गरिमा, स्वतन्त्रता र प्रगति चाहन्छन्, त्यसैले क्रूर दुश्मनको दबाबले इरानीलाई कुनै फरक पर्दैन ।’’ खोमेनीले अमेरिकाीलाई दुनियाँको सबैभन्दा ‘दुष्ट’को आरोप पनि लगाए । उनको कार्यालयका तर्फबाट भनिएको छ, ‘‘नरम मुलुक इरानमाथि अमेरिकाले दोष लगाउनुका साथै अपमानित गरेको छ, जबकि अमेरिका स्वयम् झगडा, सङ्घर्ष र लुटपाट गर्छ ।’’ इरानी जनता यस्तो अपमानका सामु नझुक्ने उनले जनाए ।
इरानका शीर्ष धार्मिक नेताको वेबसाइटमा खोमेनीलाई उद्धृत गर्दै अमेरिकी सरकारलाई सबैभन्दा कुटिल भनिएको छ । यतिमात्र होइन, अमेरिकाले इरानसँग कुराकानी गर्ने बताउनुलाई एउटा ‘छल’समेत भनिएको छ । ‘‘यो एउटा स्पष्ट क्रूरता हो,’’ वेबसाइटमा उल्लेख छ । इरानले गत साता अमेरिकी ड्रोनलाई खसालिदिएको थियो । त्यस घटनापछि यी दुई मुलुकबीच वाक्युद्ध चलिरहेको छ । यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खोमेनी र अन्य इरानी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।
















