भक्तपुर। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँगाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका माननीय सदस्यहरुले काठमाडौंमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरबार ल्याइदिएको जनाएका छन्। भक्तपुर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले भने यस्तो जनाएका हुन् ।
सरकारको योजना सिंहदरबार गाउँगाउँ पुर्याउने रहेको तर व्यवहारमा भने गाउँगाउँलाई सिंहदरबार ल्याइपुर्याएको जनाए। उनले भने, ‘प्रतिनिधि सभाका २७५ सदस्यहरुमध्ये ७०-८० जना सदस्यले मात्रै काठमाडौंमा घर बनाउन भ्याएका छैनन्, बाँकी सबैले काठमाडौंमा घर बनाइसके। ‘ अब यस्तो अवस्थामा गाउँगाउँमा कसरी सिंहदरबार पुग्छ भनी उनले प्रश्न गरे।
उनले निर्वाचनको बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर झुटो आवश्वासन दिने तर निर्वाचन जितेर आएदेखि काठमाडौंको घरमा बस्न आउनु विडम्वनापूर्ण रहेको जनाए । ‘उहाँहरू (माननीय) चुनावका बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर जनतालाई झुटो आवश्वासन दिनुहुन्छ। तर जब चुनाव जित्नुहुन्छ अनि काठमाडौंको घरमा आएर बस्नुहुन्छ फर्केर जानु हुन्न।
यो जस्तो बिडम्बना अरू के होला ?’ उनले भने । उनले निर्वाचित क्षेत्रमै सांसदहरूलाई बस्नुपर्ने बाध्यता र काठमाडौंमा घर बनाउन नपाउने गरी नियम बनाउनु पर्ने जनाए । ‘उहाँहरू (माननीय) जुन क्षेत्रबाट निर्वाचित हुनुहुन्छ, , सोही क्षेत्रमै बस्नुपर्ने बाध्यता गर्न र काठमाडौंमा घर बनाउन दिन नपाउनुपर्ने नियम अब बनाउनुपर्यो। त्यसपछि मात्रै गाउँगाउँमा सिंह दरवार पुग्छ। नत्र त फेरि उही गाउँलाई लिएर उहाँहरू सिंहदरवार छेउमा आइपुग्नुहुन्छ।’ उनले भने ।


















