काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारा ओलम्पिक–२०२४ मा सहभागिता जनाउने भएका छन् । भरत ‘वाइल्ड कार्ड’ कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनोट भएको जानकारी नेपाल तेक्वान्दो संघले दिएको छ ।
एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए ।
भियतनाम पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीसँग हारेका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८औँ स्थानमा उक्लिएको जानकारी प्रशिक्षक लामाले दिएका छन् ।
पेरिस पारा ओलिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या दुई पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी हुन् ।
चीनको ताइयानमै भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमूनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।


















