काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको जनाएको छ ।
चितवनमा सहकारीको रकम अपचलनमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति त्यहाँबाट पोखरा लगिएको थियो । सरकारको यस कार्यलाई रास्वपाले आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना भएको जनाएको छ ।
‘सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ,’ कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
‘आज सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाइको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्धत रहेको छ,’ विज्ञप्तिमा छ ।


















