काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनिया उपविदेशमन्त्री सुन वेइतोङले भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउन चीनको सहयोग आवश्यक पर्ने जनाए ।
चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनिया पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए ।
उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन सोमबार नेपाल आएका हुन् ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।
त्यसैगरी चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छेन सङलगायतका उच्च अधिकारीहरू सहभागी थिए ।















