काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् ।
आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने जनाए।
सांसद तारामान सुनुवारले समाजिक सुरक्षालगायत अन्य सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्रको व्यवस्थाका कारण नागरिकले झन्झट व्यहोर्नुपरेको बताए ।
सांसद तुलसाकुमारी दाहालले जनकपुरस्थित जानकी वृद्धाश्रमलाई सरकारले सहयोग नगर्दा स्वास्थ्योपचार गर्न वृद्धवृद्धालाई असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद मायाप्रसाद शर्माले बाढी, पहिरोबाट घाइते भएकाको समयमै उद्धार गर्नुपर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आवश्यक कदम चाल्न सरकारसँग माग गरिन्।
सांसद शारदादेवी भट्ट र सुमित्रा बिसीले वर्षायामको सुरुसँगै जनधनको क्षति भएको भन्दै पूर्वतयारी गर्नुपर्नेमा जोड दिइन्।


















